News > बीबी एयरवेज असोजदेखि जापानमा

बीबी एयरवेज असोजदेखि जापानमा

काठमाडौं, ९ साउन - निजी क्षेत्रको लगानीमा स्थापित बीबी एयरवेजले असोज अन्त्यदेखि काठमाडौं जापान उडान भर्ने भएको छ । एयरवेजले जापानको नारिता सहरमा साताको दुई उडान भर्ने जानकारी दिएको छ । सोमबार जापानमा दुईदर्जन ट्राभल एजेन्सीसँगको अन्तक्र्रियामा एयरवेजका क्षेत्रीय निर्देशक नागाओ हिरोओसीले असोज २७ गतेदेखि काठमाडौं–जापान उडान सञ्चालन गर्ने जानकारी दिएका हुन् ।

बीबी एयरवेज काठमाडौंबाट राति साढे ११ बजे उडेर भोलिपल्ट बिहान ९ बजे नारितामा अवतरण गर्नेछ । सोही दिन साढे ११ बजे नारिताबाट उडेर अपराह्न साढे ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जानइएको छ । अनलाइन पोर्टल समुद्रपारी डटकमका अनुसार काठमाडौंदेखि जापानसम्मको दुईतर्फी भाडादर १ लाख २० हजार रुपैयाँ रहने अनुमान गरिएको छ । बीबी एयरवेजकोे पहिलो उडान काठमाडौंबाट मलेसियाका लागि भदौ २८ गते उड्ने एअरलाइन्स स्रोतले जनाएको छ । एयरबेजसँग २०२ सिट क्षमताका ३ वटा बोइङ ७५७ जहाज रहनेछन् ।

टीबीआई समूहको लगानीमा स्थापित बीबी एयरवेज सञ्चालनमा आएपछि अन्तर्राष्ट्रिय उडानका लागि सहज हुने अनुमान गरिएको छ ।

Source : Karobar